काठमाडौं, भदौ २४ । सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस बाहेकका तीन पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो।
हात्तीवनमा भएको अध्यक्षत्रयको भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। स्रोतका अनुसार भेटवार्ताको क्रममा मन्त्रिपरिषद् विस्तार र अमेरिकी परियोजना (एमसिसी) को बिषयमा पनि छलफल भएको थियो।
शेरबहादुर देउवा नेतृत्वको सरकार गठबन्धनको दुई महिना पुग्न लाग्दासमेत अझै मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारलाई पूर्णता दिनको लागि शीर्ष नेताहरुबीच अझै भागबण्डा मिलेको छैन।
समाजवादी र जसपाले उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि सहमति बन्न सकेको थिएन। एमसिसीको बिषयमा पनि गठबन्धनमा विवाद उत्पन्न हुने संकेत देखिएको छ। प्रधानमन्त्री देउवा एमसिसी अगाडि बढाउने पक्षमा छन्। तर, प्रचण्ड संशोधनबिना संसदबाट पास गर्न नहुने अडानमा छन्। एमसिसीले गठबन्धनमा विवाद सुरु हुने परिस्थिति बनेको बेलामा देउवाबाहेकको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।


























