भदौ २१ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनमा ओखलढुंगाका ७५ मध्ये ७२ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। नेतृत्वसँगै क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका छन्। आठमध्ये तीनवटा वडामा भने नेतृत्व चयन भइसकेको छैन।
“ओखलढुंगाका ७५ वडा मध्ये ९६ प्रतिशतमा सर्वसम्मत नेतृत्व चयन भएको छ,” ओखलढुंगाका निर्वाचन अधिकृत कृतिनाथ शर्माले भने, “हामी सर्वसम्मत नेतृत्व चयन भएर आएका फाइलहरु व्यवस्थापन गरिरहेका छौं।” उनले अहिलेसम्म तीन वडाको मात्र जानकारी आउन बाँकी रहेको बताए। शर्माले ओखलढुङ्गाको सर्वसम्मत नेतृत्व चयनले केन्द्रसम्मलाई सकारात्मक सन्देश दिएको बताएका छन्।
“कतै पनि होहल्ला नारावाजी भएन, हरेकजसो ठाउँमा सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न भएको छ,” शर्माले भने, “मौसमी प्रतिकुलता र कोरोना महामारीको प्रतिकुलताले पनि कुनै समस्या यहाँ पारेन।”
कांग्रेस ओखलढुंगाका सभापति प्रदिपकुमार सुनुवारका अनुसार अहिलेसम्म तीन पालिकाका तीनवडामा मात्र नेतृत्व चयन हुन बाँकी छ। त्यसमध्ये चिसङ्खुगढी गाउँपालिका–५, शेर्नामा आज चुनाव भइरहेको छ भने अन्य दुईवटा गाउँपालिकाका वडामा सर्वसम्मतिकै तयारी भइरहेको छ।
“मोलुङ गाउँपालिका–६ श्रीचौरमा सर्वसम्मत नेतृत्व चयनको तयारी हुँदैछ, चिसंखुगढी–५ शेर्नामा चुनावी प्रक्रिया सुरु भएको छ,” सभापति सुनुवारले भने, “चम्पादेवी–१० को वडासभापति विरामी भएका कारण भोलिमात्र नेतृत्व चयन हुने छ।” सभापति सुनुवारले ओखलढुंगामा ९८ प्रतिशत सर्वसम्मत नेतृत्व चयन भएको भन्दै त्यसको सन्देश, क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म सकारात्मक जाने उनले दाबी गरे।


























