भदौ २१ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्डले एन्डोरालाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४-० गोल अन्तरले पराजित गरेको हो।
इंग्ल्यान्डको जितमा जेसे लिंगार्डले दुई गोल गरे। कप्तान ह्यारी केन र बुकायो साकाले एक गोल थपे। खेलको १८ औं मिनेटमा लिंगार्डले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको ७२ औं मिनेटमा कप्तान केनले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए।
७८ औं मिनेटमा लिंगार्डले व्यक्तिगत दोस्रो गोल गर्दा इंग्ल्यान्ड ३-० ले अघि रह्यो। त्यसपछि खेलको ८५ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए। यस जितसँगै इंग्ल्यान्डले छनोटमा लगातार पाँचौं जित निकालेको छ।
समूह आईमा रहेको इंग्ल्यान्डले १५ अंक जोडेको छ। इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। एन्डोरा ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।


























