काठमाडौं, भदौ १३ । नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्। आइतबार संसद भवनमा बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।
प्रतिनिधिसभामा सो दलका २२ जना सांसद छन्।
यस्तै राष्ट्रियसभामा संसदीय दलको नेतामा बेदुराम भुसाल चयन भएका छन्। उनी पनि सर्वसम्मत नेता चयन भएका हुन्। राष्ट्रियसभामा ७ जना रहेका छन्।
एमालेमा विद्रोह गर्दै नेता नेपालको अगुवाइमा नयाँ दल बनेको थियो। निर्वाचन आयोगले गत बुधबार सो नयाँ दललाई दल दर्ताको प्रमाण पत्र दिएको थियो। दलले वैधता पाएपछि सो दलले ५ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ।
एकीकृत समाजवादी पार्टीले देउवा सरकारमा जाने यसअघि नै निर्णयसमेत गरिसकेको छ। सोमबारसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।


























