भदौ ८ । नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) ओमान प्रस्थान गर्दै छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेका हुन्।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ। ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरिसकेको छ।
बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्। नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ। खेल तालिका सार्वजनिक भएको छैन।
सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ। नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्ने क्यानले जनाएको छ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ। जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ।


























