प्रिय साथी, म देश सिँगार्न खटिरहेको छु ! तँ पनि आइजो नेपाल!
(पहिला पूरा पढेर मात्र गाली गर है।)
व्यक्तिगत होस् या सामाजिक, म मोर्चामै छु । तर तँलाई के फरक पर्छ र ? म मेरो देशमा छाती थापेर बसेको छु र एक पटक मर्छु तर तँ विदेशमा टाइसुट कसेर बसेको छस् र तँ पटक-पटक मरिरहेकाे छस् ।
थाहा छ, तैँले भन्छस्- ‘नेपालमा काम पाइनँ, के गर्ने तेरो आदर्शले खान पुग्छ र ?’
हो आदर्शले कहाँ पुग्छ र खानलाई? तैँले विदेशमा जस्तै गरी यहाँ पनि रातदिन हातका नङ्ग्रा खियाउनु पर्छ, खेतीपाती गर्नुपर्छ अनि किन पुग्दैन खान? तर तैँले त्यसो गर्दैनस् थाहा छ । तँ पनि आउँथिस् पाएको भए, आउन सकेनस् अनि नानाथरि कुरा गर्छस्, भन्छस् भन्ने पनि थाहा छ । तर मेरो मन के चाहन्छ, तँलाई के थाहा ? तेरो रोजाइमा विदेश परेपछि मेरो मन बुझ्ने कोशिस कहिले गरिस् र ? तैँले आफ्नो जीत भएको जबर्जस्त हेर्न चाहन्छस् । तर एउटा कुरा याद राख्, तेरो अनुहारको चमक, तँ आफैँ कहिल्यै देख्दैनस् मैले हेर्नुपर्छ र त्यो म हेरिरहेको छु ।
भन्छस् मैले पठाएको रेमिट्यान्सले चलेको त छ नि नेपाल । तेरो केको रेमिट्यान्स हुनु, तेरो पैसाले त धान फल्ने गह्राहरु टुक्राटुक्रा परेका छन् । मोलमोलाई बढेको छ । जताततै बोरिङ धसाएर पानीको मुहान सुकाइएकाे छ। खासमा रेमिट्यान्स त मलेसिया, यूएई, कतारलगायत मुलुकबाट पठाएर चलेको छ। तर तिनीहरु नै पीडित छन् । किनकि तेरो पैसाले टुक्राटुक्रा पारिएका महँगा गह्राहरु किन्न सक्ने हैसियत उनीहरुले राख्दैनन् । उनीहरुका परिवार सबै नेपालमै हुन्छन् र पैसा पनि नेपालमै खर्च गर्छन् । तर तेरो बूढा भएका बाउ-आमाले मात्र कति पैसा खर्च गर्न सक्नुन्छ र यहाँ ? किनकि तैँले बूढा भइसकेका बाउ-आमालाई छोडेर आफ्ना जहान परिवारलाई उतै थुपारेर टाइसुट कसेको छस् ।
केही गर्न सक्ने समयमा कथित पढाइको नाममा त कहिले विभिन्न बहानामा विदेश बसेर नेपाल र नेपालीको माया भन्दै गोहीका आँसु झार्नु पर्दैन । किनकि नेपाल सदियौँदेखि यसरी नै पिल्सिँदै आएको छ। तँ विदेश बसेर नेतालाई गाली गर्दैगर्दा नेपाल आएर आफू नेता बन्ने सामर्थ्य किन राख्दैनस् ? थाहा छ तँ त्यहाँको सुखसयलको कथित जिन्दगीसँग खुसी छस् । तैँले लेखेर र गफ दिएर विदेशमा दुःख गर्ने नेपालीको आशा केही समयलाई जुटाउन सक्लास् । तर भरोसा जुटाउन सक्दैनस्, किनकि तँ नेपाल आउँदैनस् र विभिन्न बहाना गरेर यहाँ फर्कन चाहँदैनस्।
तँलाई डर छ, तेरो हिम्मत छैन, नेपाल फर्केर छाती थाप्न। किनकि यहाँ पलपल विदेशीले बुट बजार्ने दुस्प्रयास गरिरहेको छ र हामीमाथि युद्ध मडारिरहेको छ । तर म छाती चौडा बनाएर दुश्मनहरुसँग जाई लाग्न आफ्नो धर्तीमातासँगै बम बारुदसँग जुध्ने सामर्थ्य राखी रमाइरहेको छु ।
हाम्रा पूर्खाहरुले देखाएको बहादुरीको इतिहास तँलाई ज्ञान नभएको होइन पनि। कसरी हाम्रो भूमि जोगाइदिए र तँ यही माटोमा हुर्कन पाइस् । नेपाल आमाले दुःख, सुख हुर्काइन् । जब ठूलो भइस् अहिले तँलाई त्यही काख बोझ भयो । जब आमाले साहाराको खाँचो महसुस गर्दै थिइन्, तँ स्वार्थले बिकिसकेको थिइस् । तेरा पाइला चलायमान भए र निसंकोच पलायन भइस् ।
मलाई तेरो प्रत्युत्तरको आशा छैन र गर्दिन पनि, किनकि म तेरो खुसी खोस्न चाहन्न । एउटा कुरा याद राख । नेपाल वृद्धाआश्रम होइन । पढेका र युवा नेता चाहियो भनेर अलाप्ने तँ, युवावस्थामै यहाँ आएर किन नेता बनेर देश हाँक्ने हिम्मत गर्दैनस् ? मलाई थाहा छ, तँ त दोहोरो नागरिकता भिरेर विदेशी सुखसयल खोसिँदा मात्र नेपाली भूमिलाई उपयोग गर्न चाहन्छस् ।
तँलाई गाली गरेको होइन, धेरै माया लागेर भनेको मात्र हो । किनकि यो देशलाई तेरो खाँचो छ। स्वदेश फर्केर आइजो अब। । यहाँका बाँझा जमिनलाई हराभरा बनाउन नसकुञ्जेल रुखका पात खाएर बसौँला, जंगलका सिस्नु खोलेले काम चलाऔँला । जे-जस्तो छ स्वीकार्दै हातेमालो गरेर यो देश समृद्ध पारौँला । अनि विदेशीहरुलाई नेपालको लागि भिसा खुल्ला गरेर रोजगारी दिलाऔँला।
आइजो अब नेपाल, सँगै मिलेर लडौँला । मातृभूमिलाई जोगाउँदै काँडेतारले घेरौँला। जय मातृभूमि ।
(तेरो व्यक्तिगत जीवनमा ठेस पुर्याउने मेरो चाहना होइन । कुरा बुझ्ने छस् । बरु मसँग रिसाए रिसा तर नेपाल आमालाई तेरो खाँचो छ, कुरा यत्ति मात्र हो।)
One Comment
Dipak sapkota
KadA.