साउन २८ । इङ्ल्याण्डका मिडफिल्डर फिल फोडिन चार साता मैदान बाहिर रहने भएका छन्। युरो कपको दौरान चोट बोकेका फोडिनले नयाँ सिजन प्रिमियर लिगको सुरुवाती खेल गुमाउने भएका छन्।
२१ बर्षिया इङ्ल्याण्डका मिडफिल्डरले सिटीको तीन खेल गुमाउने सम्भावना छ। जसमा टोटेनहम, नर्विच सिटी र आर्सनलको खेल समावेश छ। उनले सेप्टेम्बरमा हुने विश्वकप छनोट अन्तर्गत हंगेरीविरुद्धको खेल पनि गुमाउन सक्नेछन्।
‘यो मेरालागि निकै कठिन हो। म जति सक्दो चाँडो मैदान फर्कन चाहन्छु।’ उनले भनेका छन्। ‘फाईनल अघि खुट्टामा चोट लाग्नु अजिब थियो। म प्रशिक्षण गरिरहेको थिए। यो घटना भयो। मैले मेरो खुट्टा घुमाएको थिए। योनै दुर्भाग्य रह्यो।’ उनले थपे।
उनी चार हप्तामा मैदान फर्कने विश्वास गरिएको छ। सेप्टेम्बर ११ मा लेस्टविरुद्ध उनले पहिलो प्रिमियर लिग खेल खेल्ने अनुमान गरिएको छ।
पेप ग्वार्डिओलाले सिटीले केभिन डी ब्रोयनलाई समेत सिजनको सुरुवाती खेलमा गुमाउने बताइसकेका छन्। युरोकपमा क्वार्टरफाईनलमा इटालीसंग बेल्जियम पराजित बनेको खेलमा ३० बर्षिया मिडफिल्डरले चोट बोकेका थिए।
गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने च्याम्पियन्स लिगको फाईनल पुगेको थियो। फोडिनले उपाधिको रक्षा गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्।
‘हामी प्रिमियर लिगको च्याम्पियन हुनुको नाताले यस सिजन अझ कठिन हुनेछ।’ उनले थपे।
‘हरेक टिम हामीलाई हराउन चाहन्छन्। हामीले हरेक खेलमा आफ्नो उत्कृष्ट दिनुपर्नेछ। जुन स्तर हामीले कायम राखेका छौं। हामीले गत सिजनकै प्रर्दशन दोह¥याउन कोशिश गर्नेछौं र उपाधि जित्न कोशिश गर्नेछौं।’ फोडिनले भने। एजेन्सी


























