काठमाडौं, साउन १८ । राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ। विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गरेकाहुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गर्यो।
यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो।
शोक प्रस्ताव
राष्ट्रियसभामा पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरिएको छ। राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो।
उनको निधनप्रति सभामा एक मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने छ। रासस


























