चितवन, साउन १८ । चितवनको पर्यटकीय नगरी सौराहाका पर्यटन व्यवसायी सहित रत्ननगरका अन्य व्यवसायीहरुलाई आइतवार देखि खोप लगाउन थालिएको छ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनको पहलमा खोप ल्याएर पर्यटन व्यवसायी,होटलका कर्मचारी,नेचरगाईड तथा नगर भित्रका अन्य व्यवसायीहरुलाई पनि खोप लगाउन थालिएको हो। खोप अभाव भएपछि रत्ननगरका मेयर वनले मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय संग समन्वय गरेर खोप माग गरेका थिए।
मेयर वनको आग्रहका आधारमा प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी,कर्मचारी,नेचरगाइडहरु तथा उद्योग बाणिन्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी,सहकारीकर्मी,खानेपानी संस्थाका कर्मचारीहरुका लागि खोप पठाएको हो। हामीले जिल्ला भरीका पर्यटन व्यवसायी,यस संग सम्बद्ध कर्मचारी,नेचरगाइड,सहकारीकर्मीहरुका लागि प्रदेश सरकारसंग २ हजार ५०० खोप माग गरेका थियौं मेयर वनले हाम्रो आग्रह र पहलका आधारमा खोप आएर लगाउन सुरु गरिएको छ। मेयर वनले सौराहा सहित पश्चिम चितवनका पर्यटन व्यवसायी तथा कर्मचारीहरुलाई पनि रत्ननगरले कोरोना विरुद्धको खोप लगाउने बताए।
पर्यटन क्षेत्र सुरक्षित छ भन्ने आभाष दिलाउन चाहन्छौं उनले भने पर्यटन व्यवसायी र कर्मचारीलाई खोप लगाएपछि पर्यटक आगमन संख्या बढ्ने छ। सौराहाका पर्यटन व्यवसायी,कर्मचारी तथा नेचरगाईडहरुका लागि होटल सेभेन स्टार र थारु कल्चर हाउस तथा रत्ननगर उद्योग बाणिज्य संघसंघ आबद्ध व्यवसायीहरुलाई बकुलहर माविमा खोप केन्द्र सञ्चालन गरी खोप लगाइएको छ।
व्यवसायीहरुले जोन्सन नामक खोप लगाएका हुन। व्यवसायी,सहकारीका कर्मचारी,खानेपानी वितरण कर्मचारी, बीमा, वित्तीय संस्था, इन्स्योरेन्स, इन्टरनेट, केबुलमा काम गर्ने कर्मचारी,भिजा लागेका विदेश जाने, पशु स्वास्थ्यकर्मीलाई खोप लगाउन सूरु गरिएको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए।


























