साउन १७ । जापानमा जारी टोकियो ओलम्पिक खेलकुदमा सहभागिता जनाएका नेपाली पौडी र एथलेटिक्स टोली आज (आइतबार) नेपाल आईपुग्ने भएका छन्।
नेपाल ओलम्पिक कमिटीले पौडी र एथलेटिक्सका ६ सदस्सीय नेपाली टोली आइतबार नेपाल आईपुग्ने जनाएको छ। नेपाली टिम कतारको दोहा हुँदै काठमाडौं आईपुग्ने छन्। जुडो र सुटिङ टोली भने यस अघि नै नेपाल आईसकेका छन्।
टोकियो ओलम्पिकमा पौडीका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए। गौरिका सिंह र एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले प्रतिस्पर्धा गरेका थिए। गौरिका र एलेक्सले १ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका थिए। गौरिका भने जापानबाटै बेलायत गएकी छिन्।
एथलेटिक्समा सरस्वती चौधरीले प्रतिस्पर्धा गरेकी थिइन्। तर, महिलाको १ सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी सरस्वती पहिलो चरणबाटै बाहिरिएकी थिइन्।टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पाँचै खेलाडी युनिभर्सालिटी कोटा र वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता जनाएका हुन्।


























