काठमाडौं, साउन १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आंशिक शिक्षकले विभिन्न माग राख्दै एक सातादेखि तालाबन्दी गरेका छन्। त्रिवि उपकुलपतिको कार्यालय, रजिस्ट्रार, रेक्टर,सेवा आयोगको कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थानमा गत शनिबारदेखि प्राध्यापकहरूले तालाबन्दी गरेर धर्नासमेत दिइरहेका छन्।
त्रिवि सेवा आयोगले स्थायी प्रध्यापकको परीक्षा तालिका सार्वजनिक गरेपछि आंशिक प्राध्यापकहरूले विरोध जनाएका हुन्। पहिला आंशिक प्राध्यापकहरूलाई करार गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ।
त्रिविले एक वर्ष काम गरेका आंशिक प्राध्यापकहरूलाई निस्वार्थ करार गरेर मात्र स्थायी प्राध्यापकहरूको परीक्षा लिनुपर्ने आंशिक प्राध्यापक संर्घष समितिका प्रवक्ता एलबी विष्टले बताए। त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते स्थायी प्राध्यापकका लागि खुला प्रतिस्पर्धामा विज्ञापन गरी साउन ९ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो।
आशिंक प्राध्यापकहरूले त्रिवि पदाधिकारी कार्यालयमा तालाबन्दी गर्नुका साथै भर्चुअलक कक्षामा पनि रोक लगाएका छन्। उनीहरूले ताला बन्दी गरेदेखि नै भर्चुअल माध्यमबाट अध्यापन गराउन छाडेका हुन्।
प्रवक्ता विष्टका अनुसार २०७४ सालमा तत्कालीन कुलपतिले १ हजार ४२० आंशिक प्राध्यापकलाई करार दरबन्दी कायम गराउने निर्णय गरेपनि हालसम्म उक्त निर्णय कार्यान्वयन भएको छैन। सोही निर्णयलाई कार्यान्वयन गराउने उद्देश्यले ताला बन्दी र धर्ना गरिएको हो।
आफ्ना सम्पूर्ण मागहरू पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने उनले बताए। त्रिवि पक्षबाट अन्दोलनको कुनै सुनुवाइ नभएकोसमेत उनले बताए। पहिला आंशिक शिक्षकहरूको व्यवस्थापन गरेर मात्र स्थायी प्राध्यापकको परीक्षा सञ्चालन गर्नुपर्ने विष्टको भनाइ छ।
ताला बन्दी भएपछि त्रिवि कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, योजना निर्देशनालय, कानुनी सल्लाहकारको कार्यालय, रेक्टर कार्यालयबाट सम्पादन हुने सम्पूर्ण कार्यहरू एक सातादेखि ठप्प छन्।
आंशिक प्राध्यापकहरूको माग सम्बोधन गर्न त्रिविले वार्ता कमिटी बनाएको शिक्षाअध्यक्ष शिवलाल भूसालले बताए। उनका अनुसार आन्दोलित प्राध्यापकहरूसँग एक चरणको वार्ता भइसकेको छ। यसअघि भएका सम्झौता मध्ये धेरै मागहरू त्रिविले कार्यान्वय गरिसकेको भूसालले बताए।


























