पर्वत, साउन १७ । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ। फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो।
विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए। अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो। उपचारका क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए।
उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ। हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए। रासस























