साउन १३ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्।
गौरिकाले आज १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन्। गौरिकाको खेल नेपाली समय अनुसार आज पौने ४ बजे हुदै छ।
गौरिका १०० मिटर फ्रिस्टाइलको हिट वानमा रहेकी छन्। पहिलो हिटमा नाइजेरियाकीई अबियोला ओगुनबानवो, मोंटेनेग्रोकी एनडेला एन्टूनोभिक र गुआमकी मिनेरी कुरोटोरी गोमेज रहेका छन्। १०० मिटर फ्रिस्टाइलमा कुल ५२ जना खेलाडी मध्ये उत्कृष्ट १६ मा पर्ने खेलाडी सेमिफाइनलमा पुग्ने छन्।
यस अघि मंगलबार सम्पन्न पौडीको पुरुष १०० मिटर फ्रीस्टाइलमा नेपाली पौडी खेलाडी एलेक्स शाह सेमिफाइनलमा पुग्न नसके पनि राष्ट्रिय किर्तिमान कायम गरेका थिए।
त्यस्तै टोकियो ओलम्पिकमा यसअघि शनिबार भएको खेलमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट र सुटिङकी कल्पना परियार छनोट चरणबाट बाहिरिसकेकी छन्। सोनियाले ४८ केजी तौल समूहमा र सुटिङकी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन्।


























