काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्य पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन्। शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार विस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएका हुन्।
पार्टीका धैरै नेताहरु आकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठ्यारो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए।
पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे। कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अब अन्त्य गर्नुपर्ने उनले बताए। ‘अहिले मन्त्री बन्ने आकांक्षीहरूको हुल आइरहेको छ, आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउन कसलाई नबनाउने ?’
त्यस्तै प्रचण्डले गठबन्धनका विरोधीहरुले यो गठबन्धन फुटाउन तिर लागेको टिप्पणी गरे। एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाइ छ। संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौति बाँकी रहेको बताए।
ओली प्रवृत्ति विरुद्ध जनताको जित भएको उनको टिप्पणी थियो। ‘जे गरे पनि उनैले जित्छन् भन्ने थियो। तर केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन्। अब यो बर्बराहाट पनि धेरै दिन टिक्छ जस्तो लागेको छैन। किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ।’
साथै उनले माधव नेपालले केपी ओलीलाई महाराजधिराज भनेकोमा उनले धन्यवाद दिए। उनले भने, ‘माधव जीले ओलीलाई महाराजधिराज खुशी हुनु भएछ हामीलाई आममाफी भयो भन्नु भएछ। बडो सुन्दर व्यंग्य ! मैले उहाँलाई धन्यवाद पनि दिएँ।’
उनले संविधानलाई सही ट्रयाकमा ल्याएर बनेको सरकारले जनता र देशको पक्षमा काम गर्नुपर्ने जिकिर गरे। सरकारले शुरुमा नै सबै नागरिकलाई कोरोना खोपको व्यवस्था गर्ने निर्णय स्वागत योग्य रहेको उनले बताए।


























