काठमाडौं, साउन ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल ‘कम्युनिस्ट आन्दोलनकै गद्दार’ भएको आरोप लगाएका छन्।
सोमबार शुरू भएको एमालेको दशौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नेपाललाई गद्दार भएको आरोप लगाउँदै अब नेपालका लागि एमालेमा कुनै ठाउँ नभएको घोषणासमेत गरेका छन्।
नेपालका लागि कुनै ठाउँ नभएको बताएका ओलीले अन्य नेताहरूले भने गल्ती स्वीकार गरेर, सच्चिएर आएमा पार्टीले स्वागत गर्ने बताए। आइतबार प्रतिनिधिसभामा एमालेका २२ जना सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। उक्त घटनालाई ओलीले ‘चरम अनैतिक’ भएको टिप्पणी गरे।
ओलीले उनीहरुलाई पार्टीले कारबाही गर्ने संकेत गरेका छन्। ‘पार्टीप्रति गद्दारी गर्नेहरुलाई कारबाही नगर्ने हो भने एमाले पार्टी अब पार्टी नै रहन्न’, ओलीले भनेका छन्।


























