असार ३१ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गर्न इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रान्सको पेरिस आईपुगेका छन्।
२२ वर्षीय गोलकिपर डोनारुम्मा बुधबार पेरिस आईपुगेका हुन्। डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गर्ने बताईएको छ। डोनारुम्मा फ्री ट्रान्सफरमा पीएसजीमा अनुबन्धित हुन लागेका हुन्। उनले गत जुन ३० बाट एसी मिलानसँगको सम्झौता अन्त्य गरेका थिए।
डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन्।
डोनारुम्मा युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर हुन्। डोनारुम्माले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए। उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए। एजेन्सी


























