असार २९ । ओलम्पिक सुरु हुनु अघि जापानको राजधानीमा सोमबारबाट संकटकाल घोषणा गरिएको छ। करिब ६ हप्ता चल्ने संकटकाल अगष्ट २२ सम्म लागू हुने बताईएको छ।
कोभिड–१९ संक्रमितको संख्या बढेसंगै अस्पतालमा भिड सुरु हुन लागेको छ। महामारी सुरु भएपछि चौथो पटक संकटकाल घोषणा गरिएको हो। नयाँ संकटकालको मुख्य लक्ष्य बार र रेष्टुरेन्टमा हुने भिडलाई रोक्ने रहेको छ।
स्थानीय अधिकारीका अनुसार समूहमा हुने जमघटलाई रोक्न र घरमै बस्नका लागि संकटकाल लागु गरिएको हो। संकटकाल लागु भएपछि रंगशालामा प्रशंसक जान पाउने छैनन्। यसले जुलाई २३ बाट अगष्ट ८ सम्म हुने ओलम्पिकमा गम्भिर असर पर्नेछ। नयाँ प्रतिबन्धपछि प्रशंसकलाई खेलहरु टेलिभिजनमा देखाईनेछ।
संकटकालको दौरान पार्क, संग्रहालय, सिनेमा हल र अधिकांश पसल र रेष्टुरेन्ट रातिको ८ बजेपछि बन्द गर्न अनुरोध गरिएको छ। टोकियो निवासीलाई बिना जरुरी काम बाहिर ननिस्कन र घरबाटै काम गर्न अनुरोध गरिएको छ। सर्वसाधारणलाई मास्क लगाउन र आवश्यक सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ।
यस संकटकालबाट टोकियो सहित करिब ३ करोड मानिस प्रभावित हुने अनुमान गरिएको छ। जापानले दोस्रो देशको तुलनामा भाइरसको निकै राम्रोसंग सामना गरिरहेको छ। यसबाट ८ लाख बढी मानिस प्रभावित बनेको र मृत्यु हुनेको सख्या १५ हजार रहेको छ। एजेन्सी


























