चितवन, असार २९ । चितवन जिल्लाका जसपा नेता एवं सह-इन्चार्ज अजय निरालाले सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जबरजस्ती पेलेर कानुनको धज्जी उडाएकोमा आज सर्वोच्च अदालतले जनताको पक्षमा फैसला गरेर विधिको शासन स्थापित गरेको भन्दै खुसी व्यक्त गरेका छन्।
चितवन निर्वाचन क्षेत्र नम्बर ३ का नेता अजय निरालाले कानुन विपरीतका कदम चाल्ने र देशलाई भड्खालोमा हाल्ने प्रतिगमनकारीहरूको पराजय हुनु स्वाभाविक भएको बताएका छन्। विधिसंगत ढङ्गले चलिरहेको सांसद र त्यही सांसदबाट प्रधानमन्त्रीको पदमा निर्वाचित ओलीले देश, संसद, संविधान र कानुन आफ्नो बिर्ता जस्तै ठानेर मनोमानी रूपमा निरंकुश शैलीमा शासन संचालन गर्ने, पटक-पटक संसद विघटन गर्ने कदमलाई सर्वोच्चले कडा जवाफ दिएको निरालाको प्रतिक्रिया छ। सर्वोच्च अदालतको आजको निर्णय पछि भष्मासुर युगको विलय र लोकतन्त्रको जित भएको बताउँदै नेता निरालाले अलोकतान्त्रिक कदम कदापि टिकाउन नहुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक क्रियाकलापमा दुई पटक सहिछाप लगाउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनु पर्ने र पटक(पटक गैरसंवैधानिक कदम चाल्ने केपी ओलीलाई कारबाही गर्नु पर्ने निरालाले बताए। साथै ओलीको असंवैधानिक कदममा साथ दिने मन्त्रिमण्डल सहभागी भएकालाई पनि कारबाही गर्नु पर्ने प्रतिक्रिया नेता निरालाले दिएका छन्।


























