काठमाडौं, असार २७ । पार्टीको आन्तरिक विवाद समाधानका लागि एमाले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामा वरिष्ठ नेता माधव नेपालले असहमति जनाएका छन्।
आफू पक्षधर ५ वार्ता टोली सदस्यहरुलाई आइतबार बिहान बोलाएर नेता नेपालले मस्यौदाप्रति असन्तुष्टी जनाएका हुन्। नेता नेपालले सर्वोच्च अदालतलाई प्रभाव पार्ने गरी सहमति नहुने बताएका छन्। एकताको प्रयास जारी रहेका बेला नेपालले हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको बताएको स्रोतले जनायो।
यस्तै नेपालले अध्यक्ष केपी ओलीको एकल अधिकार रहनेगरि एमाले एकताको कुनै अर्थ नहुने र ओलीले आफू अनुकुल हुनासाथ धोखा दिने बताएका छन्।
वार्ता टोलीका एक सदस्यका अनुसार सहमतिको मस्यौदामा एक बुँदा थपेर माधव नेपाल पार्टीको दोस्रो अध्यक्ष रहने कुरा उल्लेख नहुँदासम्म नेपाल सहमत नहुने देखिएको बताए।
विधानमै नरहेको दोस्रो अध्यक्षको कुरा वार्ता टोलीले टुंगो लगाउन नसक्ने भएकाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच शीर्ष तहमा सहमति हुनुपर्ने वार्ता टोली सदस्यहरुको भनाइ छ।ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन यसअघि तयार भइसकेको दाबी समेत नेपाल पक्षका नेताहरुको छ।
अहिले सिंहदरबारमा कार्यदलको बैठक जारी छ।


























