असार २७ । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ। वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल राति पौने १ बजे सुरु हुनेछ।
इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्।
इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो।
इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ । इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो।
रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो। इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।


























