चितवन, असार २६ । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ। कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो।
मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर, रोडाभेटर, हाइरो, बीउ राख्ने र मल छर्ने मेसिन, थ्रेसर, टेलर र च्यापकटर मेसिन गरिएको छ।
ट्याक्टर सहित अन्य उपकरणलाई ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अतार्थ १५ लाख रुपैयामा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिए। पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा च्यापकटर मेसिन, रत्ननगर ११ का किसान इश्वरी चौलागाई र रत्ननगर ३ का किसान दर्शन महतोलाई एक एक वटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको छ।
त्यसैगरी सहयोगी कृषक समुह रत्ननगर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११, किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोड्याउने एक एक वटा मेसिन प्रदान गरिएको लामाले बताए।
त्यसैगरी सहयोगी कृषक समुह र किसाज युवराज शर्मालाई एक एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ। रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले सहकारी तथा कृषि समुहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गरेका थिए। सो अबसरमा मेयर नारायण वनले किसानालाई व्यवायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले चासो नदिएको बताए।
५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानहरु लिन नचाहेकोे उनको भनाई छ। सित्तैमा पाए लिने उनले भने अनुदानमा दिँदा लिन नमान्ने हाम्रा किसानहरु हुनुहुन्छ। मेयर नारायण वनले सहकारी र कृषि समुहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता दिने बताए। अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्छ उनले भने ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता दिने छ।
उपमेयर विमला दुवाडीले रत्ननगर व्यवसायिक कृषिमा आधारित नगर भएकाले यहाँका सबै किसानलाई व्यवसायीमुखी बनाउने बताइन्। प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताए। कार्यक्रममा आर्थिक विकास समितिका सदस्यहरु सरस्वती लामा, रमा भट्टराई, कृषि शाखाका बासुदेब खनाल, शोभाखर रिमाल लगायतको सहभागिता रहेको थियो।


























