असार २५ । फ्रान्सको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक परिवर्तन नहुने भएको छ। फ्रेन्च फुटबल फेडेरेसनले २०२२ को कतार विश्वकपसम्म मुख्य प्रशिक्षक परिवर्तन नहुने जनाएको छ।
फ्रान्स युरोकपको प्रि-क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक परिवर्तन हुने चर्चा चलेको थियो। फ्रान्स स्विट्जरल्यान्डसँग पेनाल्टी सुटआउटमा ५-४ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
तर, फ्रेन्च फुटबलका अध्यक्ष नोएल ली ग्रेटले कतार विश्वकपसम्म डिडियर डेसच्याम्प नै मुख्य प्रशिक्षक रहने बताएका छन्।
‘हामीले बुधबार भेट्यौं र तीन मिनेटमा यसलाई समाधान गर्यौं। निरन्तरता दिने उनको चाहना अत्यधिक छ र हाम्रो पनि हो। त्यहाँ कुनै बहस भएन,’ उनले भने।
फ्रान्सेली प्रशिक्षक डेसच्याम्पले सन् २०१२ बाट निरन्तर फ्रान्सको टिम हेर्दै आईरहेका छन्। डेसच्याम्पले २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए। युरोकपबाट बाहिरिएपछि भने उनले छाड्ने चर्चा चलेको थियो। यस्तै उनको स्थानमा जिनेदिन जिदान आउने चर्चा चलेको थियो। एजेन्सी


























