काठमाडौं, असार २१ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक र विपक्षी तर्फको बहस सकिएको छ। रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस सोमबार दिउँसो सकिएको हो।
सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की र शम्भु थापाले जवाफी बहस गरेका थिए। अब संवैधानिक इजलासले एमिकस क्युरीको राय लिन बाँकी छ। दिउँसो साढे २ बजेपछि एमिकस क्युरीको बहस शुरु भएको छ।
प्रतिनिधिसभा विघटन मुद्दामा नेपाल बार एशोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एशोसिएसनका तर्फबाट कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रुपमा चयन भएका छन्। एमिकस क्युरीको रायका लागि २ घण्टा समय तोकिएको छ।
Facebook Comments


























