काठमाडौं, असार २१ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका तयार पारेको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले निर्वाचनको कार्यतालिका तयार पारेको हो।
निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले आजै मतदाता नामावली, दल दर्ता र तथा उम्मेदवारी मनोनयन लगायतका सबै कार्यतालिका औपचारिक रूपमा सार्वजनिक हुने बताएका छन्।
आयोगको बैठकले तयार पारेको तालिका अनुसार पहिलो चरणमा हुने निर्वाचनका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका तयार भएको छ।
दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा असोज ३१ र कात्तिक १ मा उम्मेदवारी मनोनयनको तालिका तय भएको छ। निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि आयोगले असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ। सरकारले पहिलो चरणमा कात्तिक २६ र दोस्रो चरणमा मंसिर ३ मा निर्वाचनको मिति तोकेको छ।


























