असार १९ । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन्। युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु हुनेछन्। पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन्।
चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ। चेक रिपब्लिक र डेनमार्क दुबै टिम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुने छन्। दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन्।
चेक रिपब्लिकले प्रि-क्वाटरफाइनलमा उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराएको थियो। चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्समाथि २-० गोलको जित निकालेको थियो।
डेनमार्कले भने प्रि-क्वाटरफाइनलमा वेल्सलाई फराकिलो अन्तरले हराएको थियो। १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम आठको यात्रा तय गरेको हो। युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन्। यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो।
इंग्ल्यान्ड र युक्रेनबीचको अन्तिम क्वाटरफाइनल खेल इटालीको रोममा हुनेछ। स्टाडियो ओलम्पिकोमा हुने खेल राति पौने १ बजे सुरु हुनेछ। इंग्ल्यान्ड र युक्रेन दुबै टिम सेमिफाइनलमा पुग्ने योजनामा हुनेछन्।
इंग्ल्यान्ड उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो। इंग्ल्यान्डले प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो।
युक्रेनले भने स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्डसँगको भेट पक्का गरेको हो। युक्रेनले स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो।
इंग्ल्यान्ड र युक्रेनबिच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा इंग्ल्यान्डले ४ जित र २ बराबरी खेल्दा एक हार व्यहोरेको छ। दुई टिमबीच मुख्य प्रतियोगितामा पछिल्लो पटक २०१२ को युरोमा प्रतिस्पर्धा भएको थियो। त्यस खेलमा वायन रुनीको निर्णायक गोलले इंग्ल्यान्ड विजयी भएको थियो। एजेन्सी


























