असार १९ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे। बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए।
खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे।त्यसअघि खेलको १३ औं मिनेटमा इटालीका लियोनार्दो बुनिचीको गोलले मान्यता पाएन। भीएआरबाट बुनिची अफसाइड देखिएका थिए।
खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए। उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए। जियोभानी लोरेन्जोले पेनाल्टी बक्स भित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २-१ ले आफ्नो बनायो। यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ।
इटालीले अघिल्लो खेलमा ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो। यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो।
अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगिसकेको छ। ‘गोल्डेन जेनेरेसन’ टिम बेल्जियम भने क्वाटरफाइनलबाट बाहिरिएको छ।
यस अघि बेल्जियमले साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले हराएर अन्तिम आठको यात्रा सुरक्षित गरेको थियो। इटालीले प्रि(क्वाटरफाइनलमा अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो। एजेन्सी


























