काठमाडौं, साउन १७ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच आज छलफल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने जनाइएको छ।
सरकारमा सहभागी दलहरुको असमझदारीका कारण सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन्। मन्त्रालयको भागबन्डा भइसकेको अवस्थामा दलहरुले आन्तरिक रुपमा मन्त्रीको टुङ्गो लगाउन भने सकेका छैनन्।
खासगरी माओवादी केन्द्रबाट सरकारमा पठाउने मन्त्रीको टुङ्गो लगाउन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समस्या देखिएको छ। पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रीको टुङ्गो लगाउन नसकिएको हो।
आधिकारिकता विवादको निरुपण पछि मन्त्रीको टुङ्गो लगाउने भनिएको जनता समाजवादी पार्टीले पनि सरकारमा पठाउने मन्त्रीको टुङ्गो लगाउन सकेको छैन्।
आजको बैठकले मन्त्रीपरिषदलाई पूर्णता दिएर भोलिसम्म सरकार विस्तारको काम सक्ने गठबन्धन दलबीच सहमति भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री सहभागी छन्।


























