काठमाडौं, असार १६ । नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक शुरू भएको छ।
अदालतले गत जेठ २७ मा अवैध ठहर गरेको यो कमिटीको जारी बैठक अन्तिम ठानिएको छ। यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु गएका छैनन्।
यो बैठकको औचित्य नै नरहेकाले नगएको माधव नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन्। एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्ने भएकाले यसको वैधता नभएको उनले बताए।
संस्थापन पक्षको यो बैठकमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटी बनाउने स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी समिति बैठकले २०७४ जेठ २ गतेको कमिटी व्यूँताउने निर्णय गरेको थियो। सो केन्द्रीय कमिटीको बैठक असार १८ गते डाकिएको छ।


























