जेठ ३० । इंग्ल्यान्डका पूर्व डिफेन्डर ग्यारी नेभिलले फ्रान्सले युरोकप फुटबलको उपाधि जित्ने दाबी गरेका छन्।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै नेभिलले युरोकप फ्रान्सले जित्ने बताएका हुन्। डिडियर डेसच्याम्पको टिम सबै पक्षमा बलियो भएको कारण उपाधि जित्ने नेभिलको भनाई छ।
‘टिमको अनुभव, विजयी मानसिकता, व्यक्तित्व उनीहरुसँग छ। गति, गोल, चलाख र बुद्धिमान। उनीहरु कुनैपनि प्रकारको खेल खेल्न सक्दछन्। त्यो टिम हो फ्रान्सेली टिम हो,’ उनले भनेका छन्।
कठिन समूहमा रहेको फ्रान्सले जर्मनीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। दुई टिमबीचको खेल बुधबार हुनेछ। फ्रान्स रहेको समूह ‘एफ’मा जर्मनी, पोर्चुगल र हंगेरी रहेको छ।
यस्तै नेभिलले यदि कुनै टिमले फ्रान्सलाई हराउँन सक्छ भने त्यो टिम च्याम्पियन बन्ने समेत बताए। युरोकप सुरुवात भएको ६० वर्षको उपलक्ष्यमा यस पटक युरोपको विभिन्न ११ शहरमा प्रतियोगिता संचालन भईरहेको छ।


























