काठमाडौं, जेठ १६ । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमवार बिहान १० बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतवार) बेलुका ५ बजे बैठक बोलाइएको भए पनि भोलि बिहान १० बजेसम्मका लागि स्थगित भएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
आजको बैठकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने थप १२ जना नेतालाई थप कारबाहीबारे छलफल गरेर निर्णय हुन सक्ने बताइएको थियो। यस्तै शनिवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने तय भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका थिए।
यसअघि एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्दै १२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। स्पष्टीकरण सोध्ने निर्णय गरेको केही दिनपछि मात्रै एमालेले थप १२ जनालाई स्पष्टीकरण पत्र पठाएको थियो।


























