चितवन, जेठ १६ । यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आएकाछन्। गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै आएकाहुन्।
भरतपुर महानगरपालिका–१ निवासी चन्दन अग्रवालले गत वर्षको कोभिड सङ्क्रमणका कारण लकडाउन हुँदा बाँदरलाई बिस्कुट र गेडागुडी खुवाउँदै आएकाछन्। बाँदरसँगै त्यही रहेका छाडा गाईलाई पनि उनले चापट खुवाउने गरेकाछन्।
साँझको समयमा चना, गहुँ, मकै र केराउको मिश्रणलाई भिजाएर बिहान देवघाट जाने बागेश्वरी वन क्षेत्रमा उनले बाँदरलाई दिने गरेकाछन्। कहिलेकाही देवघाटको हनुमान मन्दिर क्षेत्रमा पनि उहाँले बाँदरलाई खानेकुरा बाँड्ने गर्छन्।
प्रहरी र स्थानीयले देवघाटमा खाद्यान्न बाँड्दा अवरोध गर्ने भएकाले सो क्षेत्रमा नियमित बाँड्न नपाएको उनको गुनासो छ। दैनिक २० किलो हाराहारी गेडागुडी र आठ किलो चोक्कर उनले बाँड्दै आएकाछन्। आफू जिल्ला बाहिर र व्यस्त हुँदा बुबा उमाशङ्कर र भाइ रञ्जनले खाना बाँड्ने गरेको उनले सुनाए। रासस


























