जेठ १६ । ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ। शनिबार राति भएको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २-० गोल अन्तरले पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको हो।
ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले एक एक गोल गरे। खेलको दशौँ मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको २० औं मिनेटमा मार्कोन्डेसले गोल गर्दै ब्रेन्टफोर्डलाई २-० को जित दिलाए। यस्तै खेलको ६५ औं मिनेटमा जय फुल्टनले रातो कार्ड पाएपछि स्वान्सी १० खेलाडीमा समेटिएको थियो।
यससँगै ब्रेन्टफोर्ड पहिलो पटक शीर्ष डिभिजनको लिगमा बढुवा भएको छ। गत सिजन ब्रेन्टफोर्ड प्ले अफको फाइनलमा फुलहमसँग पराजित भएर बढुवा हुनबाट बन्चित भएको थियो। ब्रेन्टफोर्डले ७४ वर्ष पछि प्रिमियर लिग खेल्न लागेको हो। ब्रेन्टफोर्डले आगामी सिजन प्रिमियर लिग खेल्नेछ। एजेन्सी


























