जेठ १६ । इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो।
पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा चेल्सीलाई जित दिलाउन काइ हाभर्ट्जले निर्णायक गोल गरे। खेलको ४३ औं मिनेटमा हाभर्ट्जले निर्णायक गोल गरेका हुन्। मासन माउन्टको पासमा उनले गोल गरेका थिए। जुन गोल चेल्सीको जितमा निर्णायक बन्यो।
यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो।
सिटी भने पहिलो पटक युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता जित्न असफल भएको छ। सिटीले आहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन। सिटी यस सिजन पहिलो पटक फाइनल पुगेको हो।
यस्तै मुख्य प्रशिक्षक थोमस टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन्।
जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो। तर, टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक हुन्।
गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए। तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो। एजेन्सी


























