जेठ १६ । नेपाल इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको छ। इराकको अल्फाहया रंगशालामा भएको खेलमा इराकले पहिलो हाफमा ४-२ गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।
इराकका लागि कप्तान अला अब्दुल जहरले खेलको सातौ मिनेटमा शुरुवाती गोल गरेका थिए भने त्यसको एक मिनेटपछि नै नेपालका अन्जन विष्टको प्रहारलाई क्लियर गर्ने क्रममा इराकका डिफेन्डरले आफ्नै पोष्टमा गोल हान्दा नेपालले बराबरी गोल गरेको थियो।
त्यसपछि खेलको २९औ मिनेटमा नेपालका डेभ्यु खेल खेलिरहेका मनिष डाँगीले गोल गर्दै खेलमा नेपाललाई २-१ को अग्रता दिलाएका थिए। तर नेपालले त्यसपछि पहिलो थप तीन गोल खाएपछि पहिलो हाफको खेल सकिदा नेपाल ४-२ गोलले पछाडी परेको थियो।
त्यस्तै दोस्रो हाफमा भने खेलमा इराक हावी भएको थियो। नेपालले पहिलो हाफमा जस्तो खेल खेल्न सकेको थिएन। इराकले दोस्रो हाफमा थप २ गोल गरेपछि खेल ६-२ ले जितेको छ। फिफा वरियतामा नेपाल भन्दा १०३ स्थानमाथि रहेको इराकसँग योसँगै सबै चार खेलमा नेपाल पराजित भएको छ।
पहिलो पटक भारतमा १९८२ मा भएको एसियाली खेलकुदमा नेपालले इराकसँग ३–० गोल अन्तरको हार बेहोरेको थियो। त्यस्तै दोस्रो पटक २००१ को विश्वकप छनोटको पहिलो खेलमा नेपाल ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल ४–२ गोल अन्तरले पराजित भएको थियो। इराकविरुद्ध पहिलो र दोस्रो गोल नीराजन रायमाझीले गरेका थिए भने हरि खड्काले एक गरेका थिए। अब मनिष डाँगी इराकविरुद्ध गोल गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन्।
यो खेलपछि अब नेपाल जुन पहिलो साताबाट सुरु हुने विश्वकप छनोटका बाँकी खेल खेल्न कुवेत प्रस्थान गर्नेछ। नेपालले विश्वकप छनोट अन्तर्गत तीन खेल खेल्न बाँकी छ। जसमा जुन ३ मा चाइनिज ताइपेइविरुद्ध, जुन ७ मा जोर्डनविरुद्ध र जुन ११ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ।
नेपाल अहिलेसम्म खेलेका ५ खेलमा १ जित र ४ हारसहित ३ अंक मात्र जोडेको छ। समुहमा अष्ट्रेलिया १२ अंक जोड्दै शीर्षस्थान छ भने कुवेत र जोर्डनको १०/१० अंक रहेको छ। त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ५ खेलमा कुनै अंक छैन। नेपालले चौथो स्थानमा रहन सके मात्र पनि एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने अवसर पाउने छ।

























