जेठ १३ । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेका छन्। दोस्रो पटक क्लब सम्हालेका फ्रान्सेली प्रशिक्षक जिदानले यस सिजन उपाधि विहीन बनेपछि क्लब छाडेका हुन्।
रियलले बिहीबार एक विज्ञप्ति निकाल्दै जिदानले क्लब छाडेको जनाएको छ। रियलले जिदानको निर्णयलाई सम्मान गरिने समेत जनाएको छ। जिदान सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका थिए। प्रशिक्षक सान्टीयागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो। त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको टिम हेरेका थिए। जिदानको नेतृत्वमा रियलले ३ पटक च्याम्पियन्स लिग र २ ला लिगा जितेको छ।
यस्तै उनले रियललाई २ पटक युएईएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन्। यस सिजन भने रियल ला लिगामा दोस्रो स्थानमा रहेको थियो। यस्तै च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्म मात्र पुगेको थियो। एजेन्सी


























