जेठ १२ । घरेलु टिम बंगलादेशले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्दतिको आधारमा १ सय ३ रनले हराएर बंगलादेशले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो।
बंगलादेशले दिएको २ सय ४७ रनकोया लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो। वर्षाले खेल रोकिएपछि डीएलको आधारमा श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो।
तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो। श्रीलंकाका दनुश्का गुनाथिलकाले सर्वाधिक २४ रन बनाए। पथुम निशान्काले २० तथा इशुरु उडानाले अविजित १८ रन बनाए। बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ३/३ विकेट लिए। शकिब अल हसनले २ विकेट लिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २ सय ४६ रन बनाएको थियो। बंगलादेशका लागि मुस्फिकर रहिमले १ सय २५ रनको शतकीय इनिङ्स खेले। यस्तै महमुदउल्लाहले ४१ रन जोड्दा लिटोन दासले २५ रन बनाए। कप्तान तमिम इकबाल १३ रनमा आउट हुँदा शकिब अल हसन सुन्य रनमा आउट भए।
श्रीलंकाका लागि लक्षण सन्दुकन र दुश्मन्था चामिराले ३र३ विकेट लिए। इशुरु उडानाले २ विकेट लिए। जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। पहिलो खेलमा बंगलादेशले ३३ रनको जित निकालेको थियो। एजेन्सी


























