चितवन, १६ भदौ। चितवनमा डेंगु रोगको संक्रमण हरेक दिन तीव्र गतिमा फैलिँदै गएपछि लामखुट्टेको लार्भा खोजेर नष्ट गर्न वातावरण सरसफाइ समूह वे ग्रुप गाडी ग्यारेज तथा फोहोर बढी भएका ठाउँहरूमा जान थालेका छन्। डेंगु सार्ने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सफा पानीमा फुल पारेर सन्तान वृद्धि गराउने हुँदा त्यस्ता स्थानको पहिचान गरी नष्ट गर्नको लागि गाडी ग्यारेज वरिपरि टायर पल्टाउँदै हिँडेको हो।

‘टायरमा पानी परेपछि जसरी पनि थोरै पानी बाँकी रहन्छ,’ अध्यक्ष भोजनारायण कँडेलले भने, ‘जसले गर्दा लामखुट्टेले वृद्धि विकास गरिरहेको हुन्छ। हामी त्यसैको अन्त्य गर्ने प्रयासमा छौँ।’ ग्यारेज सञ्चालक तथा ग्यारेजमा काम गर्ने मजदुरहरूलाई समेत यसबारे सचेत गराइएको उनले बताए। ‘आफैँले सुरक्षा नअपनाउँदा डेंगु फैलिन सक्छ,’ उनले थपे, ‘त्यसैले जहाँ सफा पानी जमेको छ, त्यसलाई फाल्न हामीले सुझाएका छौँ।’

ग्यारेजमा काम गर्ने मजदुरले दिउँसो काम गर्ने र दिउँसोकै समयमा टोक्ने लामखुट्टेबाट डेंगु सर्न सक्ने हुँदा त्यसबाट बच्न लामखुट्टे भगाउने उपाय अपनाउन पनि सुझाएको वे ग्रुप नेपालकी सदस्य सविना कँडेलले जानकारी दिइन्। डेंगुबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने भएकोले सबैले आ–आफ्नो घर वरिपरि सरसफाइ गरिराख्नुपर्ने उनको भनाइ छ। ‘सरसफाइमा ध्यान नदिँदा डेंगुबाट हामी टाढा जान सकेका छैनौँ,’ उनले भनिन्, ‘बरू हामीले आफ्नै घर वरिपरि डेंगु सल्काउने लामखुट्टेको संरक्षण गरेर राखेका छौँ।’

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार चितवनको मुख्य बजारी क्षेत्र पुलचोक, सहिदचोक, कमलनगर, लायन्सचोक, क्षेत्रपुरलगायतका स्थानमा डेंगुको संक्रमण बढी देखिएको छ। भरतपुरको वडा नं. १, २, ३, ४, १०, ११ र १२ पनि बढी जोखिममा रहेको स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए।