पर्वत, जेठ ९ । राष्ट्रिय जनमोर्चाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ। पार्टीले दिएको निर्देशन उल्लंघन गरेको भन्दै थापालाई कारबाही गरेको जनमोर्चाले जनाएको छ।
गण्डकी प्रदेश सरकारको सत्ता समीकरण फेरबदल हुन लागेको अवस्थामा जनमोर्चाले नेपाली कांग्रेसबाट प्रस्तावित मुख्यमन्त्री रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गर्न ह्विप जारी गरेको थियो। त्यो अवस्थामा तीनजना सांसद रहेको जनमोर्चाको निर्णय नै निर्णायक थियो। केन्द्रमा ओली सरकारले संविधानविरोधी काम गरेको र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ समेत ओलीको पक्षमा उभिएको भन्दै जनमोर्चाले गुरुङविरुद्ध उभिने निर्णय गरेको थियो।
गत वैशाख २९ गते प्रस्तावित मुख्यमन्त्रीको पक्षमा बहुमत हस्ताक्षर गरेर प्रदेश प्रमुखसमक्ष बुझाउने कार्यक्रम रहेको थियो। तर, सांसद थापा भने हस्ताक्षर नगरी गृह जिल्ला बाग्लुङ गएका थिए। उनको हस्ताक्षरका लागि पार्टीका केन्द्रीय महासचिव मनोज भट्ट समेत पोखरा पुगेको थिए। तर, सांसद थापाले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नसक्ने बताएका थिए। जसका कारण विपक्षीको पक्षमा बहुमत नपुग्दा मुख्यमन्त्री गुरुङ नै स्वतः पुनः मुख्यमन्त्री बनेका छन्।
सांसद थापाको यही कदमका कारण साधारण सदस्यबाट समेत एक वर्षका लागि निलम्बन गर्ने निर्णय शनिवार भएको महासचिव भट्टले बताए।
‘उहाँले पार्टीको निर्देशन मान्नु भएन। जुन पार्टीबाट निर्वाचनमा जितेको हो, उसैको निर्देशन नमानेपछि केन्द्रीय सदस्यबाट सधैंका लागि र साधारण सदस्यबाट एक वर्षका लागि निलम्बनको निर्णय गरेका छौं,’ भट्टले भने, ‘मुख्यमन्त्रीले विश्वासको मतका लागि एक महिनाको समय पाएका छन्। अबको दिनमा पनि थापाले पार्टीको निर्देशन मान्नु भएन भने सांसद समेत नरहने गरी कारबाही गर्ने पार्टीको योजना छ।’
गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको केही दिनमा विश्वासको मत लिनुपर्ने हुन्छ।

























