जेठ, ८ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद् विघटन गर्दै घोषणा गरिएको चुनाव सर्वसत्तावाद लाद्न गरिएको जालझेल भएकाले त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन्।
संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग-२ भएकोले डटेर प्रतिवाद गर्न उनले आग्रह गरेका हुन्। शनिवार बिहान फेसबुकमार्फत आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताए।
उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ। यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’


























