जेठ ७ । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना हुने पक्का भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको छ।
युएईको अनुमतिसँगै प्रतियोगिताको बाँकी खेलहरु आबुधाबीमा हुनेछ। तर, बाँकी खेलको मिति भने तय भएको छैन। यस अघि कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको थियो। पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ।
पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो। फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो। कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो। युएई पुगेपछि खेलाडी र अफिसियलहरु ७ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ।
यस्तै टिमका खेलाडीहरु ३ होटलमा बस्नु पर्नेछ। एक होटलमा दुई टिम रहने बताईएको छ। एजेन्सी


























