जेठ ६ । युभेन्ट्सले ईटालियन कोपा ईटालियाको उपाधि जितेको छ। बुधबार राति एटलान्टालाई पराजित गर्दै युभेन्ट्सले घरेलु कपको उपाधि उचालेको हो। उपाधि भिडन्तमा युभेन्ट्सले एटलान्टालाई २–१ गोल अन्तरले पराजित गर्यो।
खेलमा अग्रता युभेन्ट्सले ३१ औं मिनेटमा देजान कुलुसेवस्कीको गोलमा लिएको थियो। रुस्लान मालिनोवस्कीले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ७३ औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै युभेन्ट्सलाई उपाधि दिलाएका हुन्। खेल सकिन दुई मिनेट अघि टालोई रातो कार्ड खादै मैदान बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो।
युभेन्ट्सले कोपा ईटालियाको उपाधि १४ औं पटक उचालेको हो। उसले सन् १९६३ पछि पहिलो पटक यो उपाधि हात पारेको हो। प्रशिक्षक आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो उपाधि हात पारेको हो। प्रतियोगिता करिब साढे ४ हजार दर्शक समक्ष खेलाईएको थियो। ईटालीमा पहिलो पटक दर्शक सहित ठुलो फुटबल प्रतियोगिता खेलाईएको हो।
सिरि एको तालिकामा पाँचौ स्थानमा रहेको युभेन्ट्सलाई पछिल्लो उपाधिले राहत दिएको छ। युभेन्ट्स यस सिजन लगातार नवौं पटक लिग उपाधि जित्ने सम्भावनाबाट बञ्चित भईसकेको छ। एजेन्सी


























