पोखरा, जेठ ५ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री गुरुङले एमालेबाट सहभागी मन्त्रीलाई नै दोहोर्याएका छन्। यसअघिको सरकारमा सहभागी एमालेका किरण गुरुङ (अर्थ मन्त्रालय), रामशरण बस्नेत (भौतिक पूर्वाधार), नरदेवी पुन (सामाजिक विकास) र विकास लम्साललाई (उद्योग, पर्यटन वन तथा वातावरण) नै मुख्यमन्त्रीले निरन्तरता दिएका छन्। स्वतन्त्र निर्वाचित सांसद दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रीमा दोहोरिएका छन्।
बाँकी मन्त्री भने अहिलेलाई विना विभागीय मन्त्री तोकिएको र उनीहरूको जिम्मेवारी केही दिनमा टुङ्गो लगाइने मुख्यमन्त्री कार्यालय स्रोतले बतायो। नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्।


























