जेठ ३ । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको क्रिकइन्फोले जनाएको छ।
यस्तै प्रतियोगिता सामेल हुनेले अनिवार्य खोप लगाउनु पर्ने बताईएको छ। युएईको अनुमतिसँगै पीसीबीले सहभागी ६ टिमसँग छलफल अघि बढाएको छ।पीसीबीले दुई साता अघि प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव गरेको थियो।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो। पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो। कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको छ। यस्तै फाइनल खेल जुन २० मा कराँचीमा हुने तालिका रहेको छ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेको छ। एजेन्सी


























