काठमाडौं, जेठ ४ । पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ-ते’ को असरले देशभरको मौसममा बदली भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोही चक्रवातको असरले आज दिनभर मौसममा बदली हुने र ठाउँठाउँमा वर्षाको सम्भावना रहेको छ।
‘अहिले देशभर सामान्यदेखि पू्र्ण बदली रहेको छ। यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै गएको देखिन्छ। देशको पश्चिमका केही स्थानमा अहिले हल्का वर्षा भैरहेको छ,’ महाशाखाले भनेको छ।
आज दिउँसो देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार र बिहीबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


























