बैशाख ३१ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई पराजित गरेको छ। लिभरपुलले बिहीबार राति भएको खेलमा युनाईटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो। ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो।
खेलको दशौँ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा फर्काए।
पहिलो हाफको इन्जुरी समयमा रोबर्टो फिर्मिन्होले गोल गरेपछि लिभरपुल २-१ ले अघि रह्यो। खेलको ४७ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३-१ को अग्रता दिलाए।
६८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-२ को अवस्थामा ल्याए। तर, खेलको ९० औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-२ को जित दिलाए।
जितसँगै लिभरपुलले शीर्ष चारको आशा कायम राखेको छ। लिभरपुल ३५ खेलमा ६० अंक जोडेर पाँचौं स्थानमा छ। युनाईटेड ३६ खेलमा ७० अंक जोडेर दोस्रो स्थानमा छ। एजेन्सी


























