काठमाडौं, बैशाख ३० । नेपाल सुपर लिग (एनएसएल) को फाईनल प्रवेशका लागि आज (बिहिबार) ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स भिड्दैछन्। पहिलो प्लेअफमा पराजित काठमाडौंले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो।
बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुरले २४ घण्टा नबित्दै काठमाडौंविरुद्ध उत्रन लागेको हो। पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदुरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ साढे ५ बजे सुरु हुनेछ।
लिग चरणको खेलमा दुवै टिमले प्रतिस्पर्धा गरेका थिए। भ्याली डर्बीको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो। काठमाडौंको जितमा अफ्रिकन खेलाडी मेसौके ओलुमोउले विजयी गोल गरेका थिए।
पछिल्लो ६ खेलमा अपराजित रहेको ललितपुर सिटी एफसी काठमाडौंविरुद्ध सोही नतिजा दोहर्याउने कोशिश गर्नेछ। उपाधिको बलियो दाबेदार काठमाडौं समेत ललितपुरविरुद्ध आफ्नो सेट टिमबाट नतिजा निकाल्न प्रयासरत हुनेछ।
पछिल्ला दुई खेलमा गोल गरेका अन्जन विष्टमा सबैको नजर हुनेछ। पहिलो संस्करणको एनएसएलमा फाईनल पुग्न उनै अन्जनबाट ललितपुरले ठुलो अपेक्षा गरेको छ। पछिल्ला चार खेलमा क्लिन सिट निकालेका अर्पण कार्कीको उत्कृष्ट प्रर्दशन काठमाडौंविरुद्ध समेत टिमलाई आवश्यक रहनेछ।
पहिलो प्लेअफ गुमाएपनि काठमाडौं फाईनल पुग्न सकिने आत्मविश्वास राखेको छ। पहिलो खेलमा ललितपुरलाई हराउन महत्वपुर्ण भुमिका खेलेका ओलुमोउ सहितका फरवार्डबाट काठमाडौंको ठुलो अपेक्षा छ। ललितपुरविरुद्धको खेलमा म्यान अफ दी म्याच चुनिएका सन्जोक राई र इमर्जिङ प्लेयर बनेका विश्वास श्रेष्ठबाट काठमाडौंले राम्रो प्रर्दशन चाहेको छ।
इलिमिनेटर राउण्डमा पुगेको ललितपुरले पर्याप्त आराम भने पाएको छैन। २४ घण्टा नबित्दै दोस्रो खेलमा उत्रन ललितपुरलाई गाह्रो पर्न सक्नेछ। ललितपुरका प्रशिक्षक राजु तामाङ जागेको लाखे टिमलाई रोक्न अब गाह्रो हुने बताउँछन्।
‘टिम अब राम्रो बनेको छ। ललितपुुरविरुद्ध राम्रो खेल्नेछौं। अब लाखे जागेको छ।’ बुटवल लुम्बिनीलाई हराए लगत्तै तामाङले भने।
काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन धनगढीविरुद्ध गरेका गल्ती सुधार गर्दै फाईनल पुग्ने योजना रहेको बताउँछन्।
‘फाईनल पुग्न अझै एक अवसर बाँकी छ। राम्रो खेल्ने प्रयास रहनेछ। अहिलेसम्म खेलाडीको प्रर्दशनबाट खुसी छु।’ महर्जनको प्रतिक्रिया थियो।


























