काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ।
केपी ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन्।
नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन।
जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा छैनन्। सोमबार सदनमा ओलीले विश्वासको मत लिँदासमेत जसपाका १५ सांसद तटस्थ बसेका थिए।
सोही साँझ कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै जसपाकै अर्का अध्यक्ष उप्रेन्द्र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई गरेको आग्रहले अर्को खेमा सरकारमा जान तयार देखिएको छ।
तर २७ गते मध्यराति नै ठाकुरले विज्ञप्ति जारी गर्दै सरकार गठन जसपाको प्राथमिकतामा नरहेको जनाएका थिए। जसपाको ठाकुर-महतो पक्षले राष्ट्रपतिलाई भेटेर अर्को पक्षले दिएको निर्णय आधिकारिक नहुने जनाउँ दिँदै सरकार गठनका लागि पत्र आए त्यसलाई बैधता नदिन पनि आग्रह गरिसकेको छ।
संविधानको धारा ७६-२ को सरकार निर्माणमा निर्णायक देखिएको जसपाभित्रको ध्रुवीकरणले नयाँ सरकार गठनमा अन्यौलता देखिएको छ।
नयाँ सरकारका लागि एमालेभित्रको नेपाल-खनाल समूहको भूमिका पनि निर्णायक छ। सामूहिक राजीनामाको चेतावनी दिँदै आएको उक्त समूहका २८ सांसद ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए। उनीहरूले राजीनामा दिएको खण्डमा पनि नयाँ सरकार बन्न सक्ने भएपछि विपक्षी गठबन्ध जसपा र नेपाल-खनाल पक्षको निर्णय कुरेर बसेको छ।
गठबन्धनको सरकार बनाउने चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ। तर जसपाभित्रको विभाजनले एमालेको नेपाल-खनाल पक्षले राजीनामा दिए सरकार बन्न सक्छ।
फेरि ओली नै दोहोरिने सम्भावना
संविधानको धारा ७६ को ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ।
३८ महिनापछि संसदमा विश्वासको मत लिएका केपी शर्मा ओलीले बहुमत गुमाएका थिए। उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए। उनको विपक्षमा १२४ मत खसेको थियो। आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्याउन दलहरुलाई चुनौती छ। यस्तो अवस्थामा संसदको ठूलो दलको हैसियतमा ओली नै ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ।


























