काठमाडौं, बैशाख २४ । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा पोखरा थण्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ। पोखरा र चितवनबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।
आज पोखरा जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्न चाहन्छ। पोखराको यस खेल लिग चरणको अन्तिम खेल हो। पोखरा ५ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। प्लेअफको ढोका खुल्ला राख्न पोखरालाई चितवनविरुद्ध जित्नै पर्ने दबाब रहेको छ।
पराजित भएको खण्डमा पोखरा बाहिरिनेछ। यता, चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना कायम राख्न चाहन्छ। ४ खेलमा २ अंक जोडेको चितवन पुछारमा रहेको छ। चितवनलाई प्ले अफ सम्भावना कायम राख्न बाँकी दुई खेल जित्नै पर्ने दबाब रहेको छ। पोखरासँग पराजित भएमा चितवन बाहिरिनेछ।
Facebook Comments


























