काठमाडौं, बैशाख २३ । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
ललितपुर र बुटवलबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। आज ललितपुर जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना कायम राख्न चाहन्छ। ललितपुर ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
बुटवल पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ। बुटवल ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ। ललितपुरलाई हराएमा बुटवल दोस्रो स्थानमा उक्लने छ।
यस्तै दोस्रो खेलमा काठमाडौं रेजर्स र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र विराटनगरबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। आज काठमाडौं जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ।
काठमाडौं ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। जित निकालेमा काठमाडौंले शीर्ष स्थानको धनगढीविरुद्ध अंक बराबरी गर्नेछ। विराटनगर पनि जित निकाल्दै प्लेअफ सुरक्षित गर्न चाहन्छ। विराटनगर ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।


























