बैशाख २२ । प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ। सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनल प्रवेश गरेको हो।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दोस्रो लेगको खेलमा २–० ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित सिटी फाईनल पुगेको हो। दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे।
खेलको ११ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६३ औं मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजको सिटीको जित सुनिश्चित गरे।
पीएसजीले १० खेलाडीमा सिमिति रहदै खेलको अन्त्य गरेको थियो। एन्जल डी मारिया रातो कार्ड खादै मैदान बाहिरिएपछि लिग वान क्लब १० खेलाडीमा सिमित बनेको थियो। पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो।
सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा पराजित हुदै आएको थियो। सिटीले सन् २०१६ मा सेमिफाईनल खेलेको थियो।सिटीले राम्रो डिफेन्सिभ खेल प्रस्तुत गर्दा यस सिजन मौरिसियो पोचिटिनो नेतृत्वको पीएसजीलाई सेमिफाईनलबाटै घर फर्काएको छ।
प्रिमियर लिग फुटबलको उपाधिको नजिक रहेको सिटीले कारबाओ कपको उपाधि उचालिसकेको छ। च्याम्पियन्स लिगको उपाधिले सिटीलाई एकै वर्ष तेहरो उपाधिको उपलब्धि दिन सक्नेछ।
सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिडबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ। चेल्सी र रियल मड्रिडले पहिलो लेग १–१ गोलको बराबरीमा खेलेका छन्। दोस्रो लेग चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ। फाईनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ। एजेन्सी

























